जेठ-१२, काठेखोला, गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजना र जिल्ला खेलकुद विकास समिति, बाग्लुङको व्यवस्थापनमा मिति २०८३ जेठ १५ र १६ गते सञ्चालन हुने गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सञ्चालन हुने मिति नजिकिँदै गर्दा आज जिल्ला खेलकुद विकास समिति बाग्लुङले तीनवटा बैठक र व्यवस्थापकीय अनुगमनको कार्यक्रम सम्पन्न गरेको छ। बाग्लुङ जिल्ला स्थित सम्पूर्ण खेल संघहरू, कला संस्कृति तथा खेलकुद विकास समिति, काठेखोला गाउँपालिका र काठेखोला गाउँपालिका वडा नम्बर ५ सँग आज छुट्टाछुट्टै बैठक सम्पन्न गरेको हो।
भलिबल, कबड्डी, एथलेटिक्स, कराते, टेक्वान्डो र उसु गरि ६ विधाका ३६ वटा खेल खेल्न गण्डकी प्रदेशका ११ जिल्लाका ९५० जना खेलाडीले आफ्नो खेल प्रदर्शन गर्नेछन् भने उत्कृष्ट हुने खेलाडीहरूले यही २० गते काठमाडौँमा हुने राष्ट्रपति रनिङशील प्रतियोगितामा सहभागिता जनाउनेछन् । ५ विधाका खेल बाग्लुङ नगरपालिका स्थित बांगेचौर खेलमैदानमा हुने र कराते खेल काठेखोला गाउँपालिका स्थित बिहुकोट खेलकुद तथा समाज विकास केन्द्रको कबर्ड हल, मैदान डाँडामा सञ्चालन हुने व्यवस्था मिलाइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री कृष्णप्रसाद कँडेलले हिमचित्रसँगको कुराकानीमा बताउनुभयो।

कला संस्कृति तथा खेलकुद विकास समिति, काठेखोला गाउँपालिका संयोजक टिका संगम बि.क.ले प्रदेश स्तरको कराते प्रतियोगिता काठेखोलामा सञ्चालन हुनुले ठूलो महत्व राख्ने भन्दै सबैलाई आफ्नो स्थानबाट सहयोग गरिदिन अनुरोध गर्नुभएको छ भने काठेखोला गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष ज्ञामनाथ कँडेलले पनि आफ्नो वडामा हुन लागिरहेको यो प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण वडावासीहरू लाग्नुपर्ने भन्दै १५ गते बिहान ९ बजे हुने प्रभातफेरि कार्यक्रममा उपस्थितिको लागि अनुरोध समेत गर्नुभएको छ।









