जेठ १५ काठेखोला, बाग्लुङ जिल्लामा सञ्चालन भइरहेको गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको आज अन्तिम दिन गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले अनुगमन गर्नुभएको छ । बिहुकोट खेलकुद तथा समाज विकास केन्द्रको कभर्ड हल, काठेखोला-५, मैदान डाँडामा सञ्चालित कराते प्रतियोगिताको अनुगमन गर्दै शर्माले यसरी ग्रामीण क्षेत्रमा कार्यक्रम आयोजना गर्नुले खेल खेल्दै राष्ट्रको भौगोलिक र सांस्कृतिक विविधता बारे बुझ्न खेलाडीलाई सजिलो हुने र यसले ठूलो महत्त्व राख्ने बताउनुभयो । 
गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजना, काठेखोला गाउँपालिका र कला संस्कृति तथा खेलकुद विकास समिति, काठेखोला गाउँपालिकाको व्यवस्थापनमा हिजो देखि बिहुकोट खेलकुद तथा समाज विकास केन्द्रको कभर्ड हल, मैदान डाँडामा सञ्चालन भएको गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता अन्तर्गत कराते प्रतियोगितामा एकल छात्र काँटा तर्फ अर्जुन सुनार, कास्की र कुमुटे तर्फ ४२, ४७, ५२, ५७, ६२ केजी तौल समुहमा क्रमसः हरि बोहरा गोर्खा, भबिन्द्र बराइली बाग्लुङ, सुजन गुरुङ गोर्खा, संगम राना तनहुँ र रुपेश गुबाजा गोर्खा तथा एकल छात्रा काँटा तर्फ सन्ध्या रम्तेल, कास्की, कुमुते तर्फ ४०, ४५, ५०, ५५, ६० केजी तौल समुहमा क्रमसः रोजा गुरुङ बाग्लुङ, सनम थापा स्याङ्जा, मेनुका महतो नवलपुर, अनिता नेपाली गोर्खा, जिया अधिकारी लमजुङले स्वर्ण पदक सुरक्षित गर्दै २० गते देखि काठमाण्डौमा सञ्चालन हुने राष्ट्रपति कपको यात्रा सुनिश्चित गरेका छन् ।









