डुडियाघाटमा साढे तीन करोड खर्चेर पुल बन्ने, माननीय मन्त्री दीपेन्द्र बहादुर थापाद्वारा शिलान्यास

kaathekhola news

काठेखोला- काठेखोला गाउँपालिका स्थीत डुडियाँघाटमा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीय सडक पुल सहयोग इकाइको प्राविधिक सहयोगमा निर्माण हुन लागेको पुलको गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री माननीय दीपेन्द्र बहादुर थापाले पौष २० गते शुक्रबार एक कार्यक्रमका बीच शिलन्यास गर्नुभयो । पुलको शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री थापाले पुलले त्यस क्षेत्रको नागरिकलाई बाह्रै महिना सहज यात्राका लागि सघाउ पुर्याउने बताए । पुलले काठेखोला गाउँपालिका-२ भिमापोखरा र काठेखोला-४ तंग्राम जोड्ने छ ।

‘मैले निर्वाचनको बखत यस क्षेत्रमा आउँदा जाँदा यो ठाउँमा पुल नहुँदा धम्जा तंग्रामका नागरिकले बर्खामा धेरै नै दुःख पाएको कुरा बुझेको छु, देखेको छु’ उनले भने,‘त्यही कुरालाई मनन् गरेर गण्डकी प्रदेश सरकारले पुल निर्माणका लागि बजेट विनीयोजन गरेको छ । यसले यहाँका नागरिकलाई सहजता हुने हामीले विश्वास लिएका छौं ।’ 

उहाँले पुलको अपरिहार्यता र आवश्यकतालाई मध्यनजर गर्दै छिटो भन्दा छिटो गुणस्तरिय पुल निर्माण गर्न निर्माण कम्पनीलाई ध्यानाकर्सण गराउनु भयो। ‘यो क्षेत्रको जनताको लागि पुलको आवश्यकतालाई ख्याल गरेर छिटो पुल निर्माण गर्नुहोला,’ निर्माण कम्पनीतर्फ लक्षित गर्दै उनले भने,‘पुल बनाउने मात्र होईन गुणस्तरीय पनि बनाउनुपर्छ, त्यसमा पनि ख्याल गर्नुहोला ।’ 

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा ज्युको अध्यक्षता, काठेखोला गाउँपालिका प्रशासन शाखाका प्रमुख मनोज कार्कीको सञ्चान रहेको कार्यक्रममा काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले स्वागत गरेका थिए । शिलन्यास तथा आयोजना कार्यान्वयनका लागि सार्वजनिक सुनुवाइ कार्यक्रममा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्रामका वडा अध्यक्ष लक्ष्मण पुन, पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेश कुमार घिमिरे, डुडियाँघाट मोटरेबल पुल निर्माण कम्पनी बि.एम.ए.निर्माण सेवा प्रा.लि.का प्रतिनिधि कृष्ण थापा लगायतका व्यक्तित्वहरुले मन्तव्य राखेका थिए । 

बि.एम.ए.निर्माण सेवा प्रा.लि.द्धारा २०८० कार्तिक १७ गते सम्झौता भएको डुडियाँघाट खोला मोटरेवल पुलको निर्माण कार्य आगामी १८ महिनाभित्र सम्पन्न हुनेछ । आर.सि.सि.टी.बिम किसिममा निर्माण हुने पुलको ८.४० मिटर चौडाइ र २० मिटर लम्वाई रहनेछ । तीन करोड ६२ लाख २२ हजार ३५ रुपैयाँको लागतमा पुल निर्माण हुन थालेको हो । पूर्वाधार विकास कार्यालयले चार करोड १२ लाख २१ हजार तीन सय ८१ रुपैयाँको लागत स्टिमेट गरेको उक्त पुल निर्माणका लागि निर्माण कम्पनीले १२ प्रतिशत कममा बिड गरेको हो । 

निर्माण कम्पनीले आगामी २०८२ सालको वैशाख मसान्तसम्म निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्नेछ । डुँडियाघाटमा पुल निर्माण भएमा काठेखोलाको वडा नम्बर ३ धम्जा र वडा नम्बर ४ तंग्रामका साथ सिंगो ताराखोलाका नागरिक लाभान्वित हुनेछन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top